फिचर समाचार स्थानिय

२० वर्षअघि राखिएको एम्बुस सिलिन्डर बम सेनाद्वारा डिस्पोज

विराटचोक / मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालती पुलनजिकै २० वर्षअघि राखिएको “एम्बुस” सिलिन्डर बम डिस्पोज गरिएको छ। बम राखिएको सूचना पाएपछि नेपाली सेनाले बिहीबार बिहानदेखि बमको खोजी गरी साँझ डिस्पोज गरेको हो।

तत्कालीन माओवादी जनयुद्धमा संलग्न एक व्यक्तिले राजमार्ग मुनि सुरूङ खनेर बम राखिएको र त्यो धेरै शक्तिशाली रहेको सुरक्षा निकायमा जानकारी दिएका थिए।

बम राखिएको ठाउँ आसपास पूर्व-पश्चिम राजमार्ग एसियन हाइवे स्तरोन्नति हुँदै थियो। त्यो ठाउँ नजिकै पुल रहेकाले डाइभर्सन बनाएर मात्रै पुल भत्काउन तयारी हुँदै थियो। तर त्यसभन्दा पहिला नै बम रहेको सूचना दिएर डिस्पोज गरिएकाले मानवीय क्षति हुनबाट बचेको नेकपा माओवादी केन्द्र सुन्दरहरैँचाका अध्यक्ष दुष्यन्त भट्टराईले बताए।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बम रहेको जानकारी आएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताए। खोजतलास गर्दा पुलबाट करिब ८/१० मिटर पश्चिममा सुरुङ खनेर राखिएको ४ वटा सिलिन्डर दिउँसो फेला परेको बताए। राजमार्ग विस्तारको क्रममा उत्खनन् गर्दा पड्किनसक्ने जोखिम रहेको भन्दै बमका बारेमा माओवादीकै कार्यकर्ताले स्थानीय प्रशासनलाई सूचना दिएको स्रोतले बतायो।

प्रहरीका अनुसार ४ वटामध्ये २ वटा सिलिन्डर बम र २ वटा ग्यास भरिएको सिलिन्डर रहेको पत्ता लागेको छ ।  प्रहरी स्रोतले भन्यो, “राजमार्गको दक्षिणतर्फ सुरुङ खनेर राखिएको बम द्वन्द्वकालीन नै हो।” विस्फोटक पदार्थ भरिएको २ वटा सिलिन्डर बम सेनाको टोलीले डिस्पोज गरेको छ । 

डिस्पाेज गर्ने क्रममा नजिकै रहेकाे घरकाे झ्यालका सिसिमा सामान्य क्षति पुगेको छ । ठुलो आवाजले पट्किदा धेरै पर सम्म आवाज आएकाे स्थानीयले बताए ।

ग्यास भरिएका २ वटा सिलिन्डरलाई थप बुझ्नका लागि सेनाले लिएर गएको छ। सो क्षेत्रमा साँझबाट यातायातका साधन नियमित रूपमा गुड्न थालेका छन्।