कोशी प्रदेश समाचार

६ मेगावाटको सभा खोला ‘सी‘ निर्माण गर्दै अर्बिट इनर्जी, दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य

खाँदबारीः संखुवासभामा ६ दशमलव ३ मेगावाटको सभाखोला ‘सी‘ जलविद्युत आयोजना निर्माण हुने भएको छ । अर्बिट इनर्जी प्रालिले सभापोखरी गाउँपालिका भएर बग्ने सभाखोलाको पानीलाई उपयोग गरी आयोजना निर्माण गर्न लागेको हो ।

प्रस्तावित आयोजनाको सम्भाव्यता र प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । आयोजनाका मुख्य संरचनाहरू सभाखोलाको दायाँ किनारमा हेडपोण्ड तथा बायाँ किनारमा अन्य संरचना निर्माण हुने भएका छन् । आयोजनाको १ हजार १ सय २ मिटरको हेडरेस टनेल, ४ सय ७३ मिटर पेनस्टक पाइप निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले अध्ययन सकिएको र आयोजनाको काम अघि बढाउन उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीको नाममा अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याउँदै सार्वजनिक सूचना प्रकाशन गरी आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय, सुझाव पेस गर्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ ।

आयोजनाको सबै काम पूरा गरेर सन् २०२५ अगष्टभित्र उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ । उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत् साढे २० किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन शीतलपाटी सबस्टेसनमा जोडिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *