कोशी प्रदेश मनोरंजन/कला साहित्य शिक्षा समाचार

छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण

विराटचाेक / छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण गरिएको छ । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा शनिबार आयोजित विशेष कार्यक्रममा लेखक अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक छवि वैरागी घिमिरेलगायतले पुस्तक लोकार्पण गर्नुभएको हाे । 

बालमनोविज्ञानमा आधारित उपन्यासले सामाजिक विभेद, मायाप्रेम र मानिससहित अन्य प्राणीको अनाथपनलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। 

बालमनोविज्ञानमा आधारित रहेर आम भुइँमान्छेको यथार्थमा केन्द्रित रहेको उपन्यासमा सामाजिक विभेददेखि मायाप्रेम र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ बन्न सक्छन् भन्ने विषयवस्तु समेटिएको समालोचक रेग्मीले जनाइन् । ‘यो पुस्तक यति सुललित किसिमले लेखिएको छ,’ उनले भनिन्, ‘पढ्दै जाँदा पुस्तक छाड्नै मन लाग्दैन, कतिखेर सक्कियो, त्यो पनि पत्तै हुन्न ।

समाजमा मानिस मात्र नभएर यहाँका प्राणीहरु पनि कसरी अनाथ बन्छन् भन्ने विषयलाई पनि बडो मार्मिक किसिमले प्रस्तुत गरिएको उनले बताइन् । ‘पुस्तक पढिरहँदा म थुप्रै ठाउँमा भावुक बनेकी छु,’ समालोचक रेग्मीले भनिन्, ‘यो पुस्तक तपाईंहरुलाई पढ्न म ढुक्कसाथ सिफारिस गर्न सक्छु ।’

कार्यक्रममा लेखक अमर न्यौपानेले उपन्यास ‘विविशारा’ लेखक छवि वैरागी घिमिरे जस्तै रहेको रोचक टिप्पणी गरे । उपन्यास पढ्दा कतै पनि झिजोलाग्दो नभएको र एकदुई बसाइमै पढिसकिने गरी उत्कृष्ट बनेको उनको भनाइ छ ।

उपन्यास विविशाराले मलाई एक किसिमको साहित्यिक स्वाद दियो,’ उनले भने, ‘यसको भाषाशैली र प्रस्तुतिले मलाई असाध्यै छोयो । पुस्तकहरुको संसारमा यसले आफूलाई पृथक् किसिमले उभ्याउने मेरो विश्वास छ ।’

लामो समयको खोज, अनुसन्धान र साधनापछि उपन्यास ‘विविशारा’ प्रकाशनमा ल्याएको लेखक छवि वैरागी घिमिरेले बताए । साहित्यकार बाबु त्रिपाठीले पनि पुस्तक पढेपछि समाजमा कति किसिमका अनाथ हुने रहेछन् भनेर सोच्न बाध्य बनाउने बताए । पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।