विराटचाेक / मोरङकाे सुन्दरहरैंचामा क्रियाशील पाथिभरा स्वतन्त्र महिला समाजले आफ्नो नवौं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रम आइतबार सुन्दरहरैंचा नगरपालिकास्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो।
साधारणसभामा गत वर्षका गतिविधिबारे समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमहरू तय गरिएको थियो। सो अवसरमा समाजकी अध्यक्ष योजना शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले संस्थाले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने र महिलालाई अझ सशक्त बनाउँदै सामाजिक कार्यमा सक्रिय बनाउन निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्घाटन संस्थापक अध्यक्ष प्रमिला दुलाल र अध्यक्ष शर्माले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा तीज विशेष मनोरञ्जनात्मक प्रस्तुति पनि गरिएको थियो। नेपाली नारीहरूको तीज पर्वलाई उत्साहपूर्ण बनाउन तीजका लोक भाकामा रमाइलो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा करिब १७५ जनाभन्दा बढीको उपस्थिति रहेको थियो।





