कोशी प्रदेश पर्यटन फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

लेटाङमा भव्य समारोह बिच पुस्तकालय तथा स्रोत केन्द्र उद्घाटन

लेटाङ/ १८औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” भन्ने मूल नारासहित मोरङको लेटाङ नगरपालिका–४ मा स्थापना गरिएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र (CLRC) आज उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपालका लागि जापानका राजदूत महामहिम माईडा टोरु र लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले संयुक्त रूपमा पुस्तकालय भवन उद्घाटन गर्नुभयो।
जापान सरकार, शान्ति भोलिन्टियर एशोसिएसन (SVA), READ Nepal तथा स्थानीय समुदायको सहकार्यमा निर्माण गरिएको पुस्तकालयलाई शिक्षा, सीप विकास, महिला सशक्तिकरण, युवाका अवसर विस्तार र सामुदायिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो।

आधुनिक सुविधा सम्पन्न यस भवनमा बालकक्ष, महिला कक्ष, युवा कक्ष, सूचना तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष र विपद् जोखिम न्यूनीकरण (DRR) कक्षसमेत समावेश गरिएको छ। साथै, प्राविधिक तथा व्यावसायिक तालिम कक्ष र सामुदायिक हलमार्फत स्थानीयलाई सीप विकास र आयआर्जनका कार्यक्रम प्रदान गरिनेछ।