कोशी प्रदेश फिचर राजनीति विचार समाचार

घनश्याम खतिवडा र एमालेको विरासत

मिलन के राउत/ उर्लाबारी
२०७० सालको दोस्रो संविधानसभाको चुनावमा तत्कालिन मोरङ क्षेत्र नम्बर ९ का लागि एमालेबाट उम्मेद्वारको आंकाक्षी थिए, घनश्याम खतिवडा । जसै घनश्यामले टिकट पाए, एमालेका अर्का आकांक्षी भुपालसिं जिमी असन्तुष्ट रहे । उनलाई मनाउन स्थानीय नेतृत्वलाई हम्मेहम्मे परेको थियो ।

उम्मेद्वारको मनोयन दर्ता हुनेबेलासम्म एमाले नेता कार्यकता बिलखबन्दमा थिए । एउटा पक्षको समर्थन नहुँदा के गर्ने, कसो गर्ने एमाले पंक्तिको मनोदशा सतहमै प्रकट भएको थियो । अकस्मात उर्लाबारीस्थित पार्टी कार्यालय परिसरमा उम्मेदवार खतिवडालाई गर्लम्म अंगालो हालेर भुपाल जिमीले ‘ल काला टोपीलाई मेरो समर्थन छ’ भनिदिंदा एमालेजनको उत्साहको ग्राफ बिछट्टै बढेको थियो ।

पार्टीका समकालिनहरुले ‘काला टोपी’ भनेर चित्रित गर्ने एमाले नेता घनश्याम खतिवडा जननेता मदन भण्डारीका राजनीतिक अनुयायी मात्रै होइन, लवाइ खुवाई लगायत जीवनका अनेक भावभंगी अनुसरण गर्ने व्यक्तिमा पर्छन् ।

कालो भादगाउँले टोपीमा सजिदा मदन जस्ता थिए, घनश्याममा त्यस्तै देखिन्छन् । सिलसिलेवर भाषणमा मदनकै प्रतिध्वनी आउने १ खासमा मदनको कालो टोपीको बिम्बात्मक पात्र घनश्यामलाई मदन ठानेर उतरी मोरङमा एमाले हुनेहरु कति छन् कति १ उनै घनश्याम खतिवडा मोरङ १ बाट यो बेला चुनावी मैदानमा छन् ।

खतिवडाको राजनीतिक यात्रा शिक्षण पेसाबाट सुरु भएको हो । वि.सं. २०३८ देखि वि.सं.२०४२ सालसम्म मोरङकै बुद्ध माध्यमिक विद्यालयमा पढाउँदा मासिक ५ सय रुपैयाँ तलब पाउने उनी जननेता मदन भण्डारी र गुरु बरालको आग्रहपछि पूर्णकालीन राजनीतिमा होमिएका थिए । जागिर छाड्न हिच्किचाएका खतिवडालाई मदन भण्डारीले ‘जागिर ठूलो कि पार्टीको निर्देशन र रु’ भनेर सोधेपछि निर्णय बदलिएको थियो । अन्ततः पूर्व एमाले नेता अशोक राईले राजीनामा लेखिदिएपछि खतिवडा राजनीतिमा पूर्णकालीन बने । त्यसपछि गाविस अध्यक्ष र सांसदजस्ता राजकीय भुमिकामा आफुलाई सावित गरिसकेका छन् ।

।।।।।।।
पुर्वी उतरी मोरङका चारवटा पालिकालाई समेटेर मोरङ क्षेत्र नम्बर १ को भुगोल निर्धारण गरिएको हो । उर्लाबारी र लेटाङ नगरपालिका तथा मिक्लाजुङ र केराबारी गाउँपालिकाको समग्र भुगोल समेटिएको क्षेत्र नम्बर १ लामो समय नेकपा एमालेको ‘अभेद्य किल्ला’का रुपमा रहँदै आएको छ ।

बहुदल पछिका तीनवटै आम चुनावमा हालको क्षेत्र नम्बर १ दुई खण्डमा विभक्त थियो । केराबारी, लेटाङसहित मिक्लाजुङका साविक रमितेखोला र टाँडी गाविसका भुगोल क्षेत्र नम्बर ४ तथा उर्लाबारीसहित मिक्लाजुङको साविक मधुमल्ला गाविस निर्वाचन क्षेत्र २ मा समेटिएको थियो । रोचक के थियो भने, २०४८, ०५१ र ०५६ का तीनवटा आम निर्वाचनमा क्षेत्र नम्बर २ मा भरतमोहन अधिकारी र क्षेत्र नम्बर ४ मा हर्कमान तामाङले शानदार मतसहित जितमा ‘ह्याट्रिक’ गरेका थिए ।

पुर्वोत्तर मोङलाई एमालेको ‘बाघखण्ड’का रुपमा उभ्याएका थिए । कतिसम्म भने, ०४९ र ०५४ सालका दुबै स्थानीय चुनावमा पुर्वपश्चिम राजमार्ग समेटिएका र उतरी पहाडी भुभागका २२ वटा सबै गाविस एमालेले ‘क्लीनस्वीप’ गरेको अवस्था थियो ।

मुलुकमा गणतन्त्र स्थापना भएयता चार निर्वाचनमा एमालेले तीनवटा हार र एउटा जितको परिणाम हात पारेको छ । पछिल्ला चुनावी मतमा झिनो मतान्तरले पछि परेपनि गठबन्धन र चौतर्फी घेराबन्दीका बीचमा पनि एमालेको मत सुरक्षित राख्नु नै सफलता भएको एमाले प्रदेश कमिटी सदस्य योगेश बस्नेत बताउछन्।

उनले प्रक्षेपण गरेझै एमालेको मत सुरक्षित राख्न सके आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडाले मोरङ १ मा पार्टीको पुरानो विरासत फर्काउने निश्चित देखिन्छ । प्रारम्भिक माहोल हेर्दा प्रतिस्पर्धामा नेपाली कांग्रेस, रास्वपालगायत दल पनि आउन सक्लान् तर जित एमालेकै हुने बस्नेतले ठोकुवा गरे ।
…….
घनश्याम खतिवडा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष हुन् । ०७४ मा सांसद निर्वाचित भएका उनी गत ०७९ को निर्वाचनमा कांग्रेस, माओवादी एकीकृत समाजवादीका साझा उम्मेद्वारसंग चार सय मतको झिनो अन्तरले पराजित भएका थिए । खतिवडाले २०७४ मा जितेर गरेको विकासलाई आधार बनाई मत मागिरहेका छन् । उनी आफ्नो जित हुनेमा विश्वस्त छन् ।

देशमा बढिरहेको दण्डहीनतालाई न्यूनीकरण गर्न पनि आफूले जित्नुपर्ने उनको तर्क छ । मतदाताले सबैको मूल्यांकन गर्दा उत्तम उमेदवारको श्रेणीमा पर्ने उनको दाबी छ । ‘विगतमा विकासको काम, जनतालाई साथ लिएर गरेको छु’, उनले भने, ‘मतदाताले पनि सबै उमेदवारको मूल्यांकन गर्दा उत्तम स्थानमा आफूलाई पाइरहेको छु ।’ इमानदार नेतृत्वलाई यसपालि जनताले कदर गर्ने उनको भनाइ छ ।

एमालेको निर्वाचन परिचालन कमिटीका संयोजक अग्नि भट्टराईका अनुसार पार्टीका सबै संरचना र कार्यकर्तालाई एकीकृत रूपमा परिचालन गर्दै चुनावी अभियानलाई तीव्र बनाइएको छ । सुर्यध्वजाबाहक उम्मेदवार घनश्याम खतिवडालाई जिताउन पार्टीपंक्ति ऐक्यबद्ध भएर क्रियाशील बनेको उनको भनाई छ ।

उनले भने, ‘अब पार्टी सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गरेर अघि बढ्छ । एमाले वायुपंखी घोडाको गतिमा दौडिन्छ र चुनाव जित्छ ।’ एमालेले निर्वाचन अवधिभर कमिटीमार्फत घरदैलो अभियान, संगठन विस्तार र मतदाता परिचालनलाई प्राथमिकता दिने जनाएको छ ।

यस्तै, युवा संघ उर्लाबारीका अध्यक्ष नितम चौहानले यसपटकको निर्वाचनमा एमालेको पूरानो विरासत फर्काउने दाबी गरे । टोलस्तरसम्म रहेको संगठन, पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले गरेका जनप्रिय काम, उमेदवारको इमानदारिता र सादगीपन जित्ने आधार भएको उनी बताउछन् । ‘हाम्रो मजबुत संगठन छ । टोलस्तरसम्मै कमिटी छन् । उमेदवारले पहिला गरेका काम पनि हाम्रो जितको आधार हो’ चौहानले भने, ‘हालका स्थानीय जनप्रतिनिधिले गरेका जनपक्षीय कामले पनि हामीलाई सहज छ । त्यसमा पनि हामीले कर्मठ, सादगी र इमानदार उम्मेदवार पाएका छौँ, जनताले मत नदिनुपर्ने कारण छैन ।’

यस निर्वाचन क्षेत्रमा ३७ वटा वडा पदर्छन् । वि.सं. २०७९ सालको स्थानीय निर्वाचनमा पार्टीले जितेको वडाको अधारमा विश्लेषण गर्दा एमाले अंक गणितमा बलियो देखिन्छ यहा ।