विराटचाेक : साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित विविशारा नामक उपन्यास प्रकाशन हुने भएको छ ।
प्रकाशनकाे काम धमाधम भईरहेकाले दशैसम्ममा याे कृति विमाेचन भई बजारमा आउने भएको छ ।
घिमिरेको यो उपन्यास बालमनोविज्ञानमा आधारित रहेर आम भुइँमान्छेको यथार्थ कथामा केन्द्रित छ। उपन्यासमा सामाजिक विभेददेखि अलौकिक मायाप्रेम, र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ बन्न सक्छन् भन्ने विषयवस्तु समेटिएको छ। नेपालकै परिवेशमा आधारित यो कृति सत्य घटनाबाट प्रेरित भई औपन्यासिक शैलीमा लेखिएको हो।
लेखकका अनुसार, विविशारा पढ्दा पाठकले आफ्नै जीवनकथाजस्तो अनुभव गर्न सक्छन्। यो कृति युवावर्ग मात्र नभई परिवार, समाज, र धनी–गरिबबीचको खाडल जस्ता विषयलाई समेत समेट्छ। यसअघि प्रकाशित उनका किनारीकृत माइली नामक चम्पू खण्डकाव्य चर्चित रह्यो। नेपाली भाषामा छन्दकविता लेखनका लागि परिचित घिमिरेका माटाको आस्था, छन्दपान र आहत हिपत समेत चर्चित कविता–कृति हुन्।
विविशारा उनको दोस्रो आख्यान हो, जसलाई उनले लामो समयको खोज, अनुसन्धान र साधनापछि प्रकाशनमा ल्याउन लागेका हुन्।
यो उपन्यास फिनिक्स बुक्स, काठमाडौंले प्रकाशन गर्ने भएको छ। एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित गरिसकेका घिमिरे विशेषगरी छन्दकविता र आख्यान लेखनमा सक्रिय छन्।




