कोशी प्रदेश जीवनशैली फिचर विचार समाचार स्थानिय

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा चार्डपर्व लक्षित शान्ति–सुरक्षाबारे छलफल

विराटचाेक /  सुन्दरहरैँचा उद्योग वाणिज्य संघले चार्डपर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। अहिलेको विषम परिस्थितिमा व्यवसायीलाई भयरहित वातावरणमा व्यापार–व्यवसाय गर्न सहयोग पुर्‍याउन यो छलफल आयोजना गरिएको संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो।

कार्यक्रममा सरोकारवाला व्यक्तिहरूले शान्तिपूर्ण ढंगले कसरी सुरक्षित रूपमा व्यापार–व्यवसाय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियाे । विगतका वर्षमा पनि यस्ता छलफल हुने गरेकामा यस वर्ष अझै बढी महत्त्वका साथ आयोजना गरिएको हो।

यस क्षेत्रमा सयौँको संख्यामा बैंक तथा वित्तीय संस्था रहेका छन्। त्यस्तै सुनचाँदी पसल, उद्योग–व्यापार गर्नेहरूलाई भयरहित व्यापारिक वातावरण सुनिश्चित गर्न सुरक्षा निकायको भूमिका अपरिहार्य हुने सरोकारवालाहरूले धारणा राखेका थिए ।

बैंकिङ क्षेत्रमा दुई दर्जनभन्दा बढी संस्था रहेका र सहकारी पनि धेरै भएकोले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुपर्ने सुझाव पनि राखिएको थियो।

सशस्त्र प्रहरी बल सलकपुरका प्रमुख नविन वानियाले अघिल्ला वर्षभन्दा यस वर्ष चोरीका गतिविधि बढ्न सक्ने भन्दै विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो। त्यस्तै  व्यवसायी तथा पूर्व अध्यक्ष  गोपाल थापाले सुरक्षाकर्मीलाई पनि आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने र सुरक्षाबाट जनतालाई निर्धक्क बनाउनुपर्नेमा जोड दिनुभयो।

पूर्व अध्यक्ष नवराज चापागाईंले सडक बत्ती र सिसि क्यामेरा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले कालोबजारी र मूल्यवृद्धि नियन्त्रणमा पनि उद्योग वाणिज्य संघ सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।

समाजसेवी सुरेन्द्र बहादुर थापाले यस पटक सुरक्षा पक्षलाई निकै गम्भीरतापूर्वक लिनुपर्ने भन्दै कवाडी व्यवसायीहरूले संकलन गर्ने सामान चोरी वा लुटपाटको त होइन भनेर सावधानी अपनाउनुपर्ने सुझाव दिनुभयो ।  

सुनचाँदी व्यवसायी संघका अध्यक्ष विवेक न्यौपानेले सुनको मूल्य बढेका कारण व्यवसायमा सुरक्षा जोखिम बढेको भन्दै व्यवसायीहरूले समयमै पसल बन्द गर्नुपर्ने र सिसि टिभी मर्मत गर्नुपर्ने बताउनुभयो।

सुन्दर होटल व्यवसायी संघका अध्यक्ष उत्सव थापाले समय निर्धारण गरेर मात्र होटल सञ्चालन गर्नुपर्ने र राति ९ बजेपछि होटल बन्द गर्नुपर्ने धारणा राख्नुभयो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख कृष्ण बहादुर खत्रीले नेपाल प्रहरीको मनोबल घटेको छैन भन्दै अपराधीक गतिविधि गर्नेहरूको सिसि टिभी फुटेज र सामाजिक सञ्जालमार्फत अनुसन्धान गरी कारबाही अघि बढाइने जानकारी दिनुभयो। उहाँले विराटचोक प्रहरी बिट दुई दिनमै तयारी पूरा गरेको उल्लेख गर्दै समाजमा सकारात्मक साेच भएका व्यक्तिहरू पनि भएकाले  व्यवसायीहरूलाई निर्धक्क भएर काम गर्न आग्रह गर्नुभयो। साथै अपराध रोक्न लङ्गुरबुर्जा खेल समेत बन्द गराइने बताउनुभयो।  कार्यक्रमका सहभागीहरूले चार्डपर्वलाई सुरक्षासहित व्यवस्थित रूपमा मनाउने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।